ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा

https://youtतपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल

ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१u.be/d4_szl5EEww

Friday, October 7, 2016

"चण्डीमा के छ ?"

रुद्री र चण्डी भन्ने शब्द प्रायः सबै नेपालीले सुनेकै छन् । अधिकांश हिन्दु धर्मावलम्बीहरूले आआफ्ना घरमा वा मठमन्दिरमा रुद्रीपाठ र चण्डीपाठ पनि गर्दै र गराउँदै आएका छन् । बडादशैंको नवरात्रमा, चेतेदशैंको नवरात्रमा र खराब ग्रहहरू लागेका बेलामा स्वस्ति एवम् शान्ति गर्ने सन्दर्भमा विशेषतः चण्डीपाठ गर्ने प्रचलन नेपाली समाजमा अद्यावधि कायमै छ । यसरी श्रद्धापूर्वक पाठ गर्ने र गराउने चण्डीमा केकस्ता विषयवस्तुहरू समावेश गरिएका होलान् ? भन्ने जिज्ञासा हरेक श्रद्धालुका मनमा उत्पन्न हुनु अस्वाभाविक होइन । त्यसैले यहाँ त्यसबारे सङ्क्षेपमा प्रकाश पार्न खोजिएको छ ।
चण्डी र गीता दुवैमा ७०० श्लोकहरू रहेका छन् । ५७ उवाच, ४२ अर्द्धश्लोक, ५३५ श्लोक र त्रिपाद् मन्त्र वा श्लोकलाई टुक्रा टुक्रा पारी पढिएका ६६ ‘नमस्तस्यै’लाई समावेश गरेर चण्डीमा ७०० श्लोक सङ्ख्या मानिएको छ भने गीतामा विशुद्ध श्लोकको सङ्ख्यामात्र ७०० रहेको छ । दुर्गा भगवतीको उपासना गर्ने ७०० श्लोक सङ्ख्या रहेका कारण चण्डीलाई ‘दुर्गा–सप्तशती’ भनिएको हो । सप्तशतीमा तेह्र अध्यायहरू छन् र तिनमा क्रमशः १०४, ६९, ४४, ४२, १२९, २४, २७, ६३, ४१, ३२, ५५, ४१ र २९ श्लोकहरू रहेका छन् । गणनागत श्लोक सङ्ख्याका दृष्टिले पाँचौं अध्याय लामो देखिए पनि पूर्ण श्लोक सङ्ख्याका दृष्टिले पहिलो अध्याय लामो देखिन्छ भने छैटौं अध्याय सबैभन्दा छोटो रहेको छ । कथावस्तुको स्रोतका दृष्टिले सप्तशती मार्कण्डेय पुराणको सावर्णिक मन्वन्तरअन्तर्गतको देवीमाहात्म्यबाट साभार गरिएको हो ।
चरित्रका दृष्टिले चण्डीलाई प्रथम, मध्यम र उत्तर गरी तीन प्रकारमा विभाजन गरिएको छ । पहिलो अध्याय प्रथम चरित्रमा केन्द्रित छ र यसमा ब्रह्मा ऋषि, महाकाली देवता, गायत्री छन्द, नन्दा शक्ति, रक्तदन्तिका बीज, अग्नि तत्त्व र ऋग्वेद स्वरूप श्रीमहाकालीको आराधना गरिएको छ । दोस्रो, तेस्रो र चौंथो अध्यायहरू मध्यम चरित्रसँग सम्बन्धित छन् र यिनमा विष्णु ऋषि, महालक्ष्मी देवता, उष्णिक् छन्द, शाकम्भरी शक्ति, दुर्गा बीज, वायु तत्त्व र यजुर्वेद स्वरूप श्रीमहालक्ष्मीको आराधना गरिएको छ । पाँचौंदेखि तेह्रौंसम्मका नौ अध्यायहरू उत्तर चरित्रसँग सम्बन्धित छन् र यिनमा रुद्र ऋषि, महासरस्वती देवता, अनुष्टुप् छन्द, भीमा शक्ति, भ्रामरी बीज, सूर्य तत्त्व र सामवेद स्वरूप श्रीमहासरस्वतीको आराधना गरिएको छ । प्रथम र मध्यम शब्दका साहचर्यमा उत्तम शब्दको प्रयोग नगरी उत्तर शब्दको प्रयोग गर्नुले अघिल्ला दुवै चरित्रलाई पूर्व चरित्र र अन्तिम चरित्रलाई उत्तर चरित्र पनि ठान्न सकिने सम्भावना देखिन्छ ।
पहिलो अध्याय मार्कण्डेयको भनाइबाट प्रारम्भ भएको छ । मार्कण्डेयका अनुसार आठौं मनु मानिने सावर्णि सूर्यका पुत्र हुन् र उनको उत्पत्तिको चर्चा यहाँ गरिएको छ । स्वारोचिष मन्वन्तरमा चैत्रवंशी सुरथ नामका राजा थिए । आफ्ना प्रजालाई औरस सन्तानकै रूपमा पालनपोषण गर्दागर्दै पनि राज्यमा कोलाविध्वंसिनी नामक उनका एउटा शत्रु देखापरे । तिनै शत्रुद्वारा युद्धमा परास्त भएका राजा सुरथ शिकार खेल्न वनमा जाने क्रममा मेधा मुनिको आश्रममा पुगे । त्यहाँ नै राजा सुरथको समाधि नामक वैश्यसँग भेट भयो । वैश्य पनि आफ्नै परिवारद्वारा तिरस्कृत भएर वनमा आउनुपरेको थियो । घरबाट आफूलाई तिरस्कारपूर्वक निकाला गर्ने परिवारजनप्रति पनि वैश्यले घृणा होइन अत्यन्त प्रेम गरिरहेको कुरा व्यक्त गर्छ । राजाले पनि आफूमा राजसी मोह छुट्न नसकेको बताउँछन् । दुवैजनाले आफूलाई मेधा ऋषिको सेवामा संलग्न गराउँछन् । ऋषि र मुनिमा पार्थक्य रहे पनि यी दुवै शब्द पर्यायवाचीकै रूपमा प्रयोग हुनसक्छन् भन्ने कुरा यस अध्यायले पुष्टि गरेको छ । मार्कण्डेयको कथनमा मेधालाई मुनि ठानिए पनि राजा र वैश्यलाई ज्ञानोपदेश गर्ने सन्दर्भमा तिनै मेधा मुनिलाई ‘ऋषिरुवाच’ का माध्यमले ऋषिका रूपमा उल्लेख गरिएको छ । तिनै ऋषिले राजा र वैश्यका सामु महामया देवीको उत्पत्तिको वर्णन गरेका छन् ।
शेषशायी विष्णुको कानेगुजीबाट मधु र कैटभ नामका दुई असुरहरू उत्पन्न (सम्भाव्यता अन्वेषणीय) भए तर ती दुवै सृष्टिकर्ता ब्रह्माको वध गर्न तत्पर भए । शेषशायी विष्णुलाई जगाउन ब्रह्माले योगनिद्रा स्तवन गरे । विष्णु निद्राबाट जागेर दुवै दैत्यका साथ पाँच हजार वर्षसम्म बाहुयुद्ध गरे । उनीहरू अत्यन्त बलशाली भएकाले तिनलाई मोहजालमा फँसाएर विष्णुले ‘मेरै हातबाट मर’ भन्ने वरदान माग्न बाध्य बनाए । त्यसपछि विष्णुले ती दुवै दैत्यको वध गरे भन्ने विषयवस्तुको वर्णन पहिलो अध्यायमा भएको पाइन्छ ।
परापूर्व कालमा देवताहरू र दैत्यहरूका बीचमा वर्षौंसम्म युद्ध भएको, देवराज इन्द्रलाई परास्त गरेर महिषासुर इन्द्रको आसनमा बसेको, सबै देवता शङ्कर र विष्णुका समीपमा गएर महिषासुरको वध गर्ने उपायका बारेमा अनुरोध गरेको, प्रथमतः विष्णुका मुखबाट महान् तेज प्रकट भएको र त्यसपछि सबै देवताहरूको शरीरबाट अतुलनीय तेज प्रकट भएको, त्यही तेजबाट नारीका रूपमा देवीको उत्पन्न भएको, तिनलाई सबै देवताहरूले भिन्न भिन्न शक्ति र अस्त्र प्रदान गरेर सर्वशक्तिमान् बनाएको र देवीसँगको युद्धमा महिषासुरका सेनाहरू मारिएको कथावस्तुलाई दोस्रो अध्यायमा समेटिएको छ ।
महिषासुरका सेनाहरूको मृत्यु भएपछि सेनापति चिक्षुरका साथै चामर, उदग्र, उग्रास्य, उग्रवीर्य, महाहनु, बिडाल, दुर्धर र दुर्मुखका साथमा देवीको युद्ध भएको र ती सबै दैत्य सेनाहरू मारिएपछि भैंसीको रूप धारण गरेर देवीका साथमा लड्न महिषासुर युद्धमा होमियो । उसले बारम्बार भैंसी, सिंह र पुरुषको भेष बदले पनि देवीले अन्तमा महिषासुरको वध गरेको, त्यसपछि महिषासुर दैत्यका सेनाहरू रणमैदानबाट भागेर गएको र देवताहरूले दुर्गादेवीको स्तवन गर्दै नृत्यसमेत गरेको कुरा तेस्रो अध्यायमा वर्णन गरिएको छ ।
युद्धमा महिषासुर र उसका सेनाहरूको मृत्यु भएपछि सबै देवताले दुर्गादेवीको स्तुति र पूजा गरेको, दुर्गादेवी प्रसन्न भएर देवताहरूको चाहनाअनुरूप ‘जब जब देवीको स्मरण गर्छौं, तब तब हजुरले हामीलाई दर्शन दिएर हाम्रा महान् सङ्कटहरूलाई दूर गरिदिनुहोस्’ भन्ने इच्छित वर दिएर देवी अन्तर्धान भएको र शुम्भादि दैत्यहरूलाई नष्ट गर्न गौरीदेवीको शरीरबाट प्रकट हुने देवीका बारेमा यसपछि वर्णन गरिने कुराको सङ्केत पनि चौंथो अध्यायमा व्यक्त भएको छ ।
प्राचीन कालमा शुम्भ र निशुम्भ नामक दुवै दैत्यले इन्द्रलाई पराजित गरी स्वर्गबाट निकालिदिएका थिए । त्यसबेला सबै देवताले अपराजिता देवीको स्मरण गर्दै ‘दुःख परेमा सम्झनू’ भन्ने पूर्वप्राप्त वरदानको अनुसरण गरी हिमालयमा पुगेर भगवती विष्णुमायाको स्तुति गरे । सबै प्राणीहरूमा चेतना, बुद्धि, निद्रा, क्षुधा, छाया, शक्ति, तृष्णा, क्षमा, जाति, लज्जा, शान्ति, श्रद्धा, कान्ति, लक्ष्मी, वृत्ति, स्मृति, दया, तुष्टि, माता, भ्रान्ति र चैतन्य रूपमा रहेर जगत्लाई व्यक्त गर्ने उनै देवीलाई बारम्बार नमन गरिएको छ । स्तुतिगान गरिरहेकै बखतमा तिनै शिवा वा पार्वती स्नान गर्न गङ्गाका तटमा आइन् र स्तुति गर्नाको कारण पनि सोधिन् । पार्वतीदेवीको शरीरकोशबाट अम्बिकाको प्रादुर्भाव भएकाले उनलाई ‘कौशिकी’ भनिएको र कौशिकी प्रकट हुँदा पार्वतीको शरीर कालो भएकाले उनलाई ‘कालिकादेवी’ भनिएको हो । चण्ड र मुण्डले उनको रूप देखेर शुम्भका नजिक पुगी त्यसको वर्णन गरेको, त्यस्ती सुन्दर स्त्रीलाई पत्नीका रूपमा ग्रहण गर्न शुम्भलाई अनुरोध गरेको, शुम्भले देवीलाई ल्याउन दूत पठाएको, ‘जसले मलाई युद्धमा जित्छ, जसले मेरो घमण्डलाई चूर्ण गर्छ र संसारमा जो मेरै समाज बलशाली छ त्यही नै मेरो पति हुनेछ’ भनेर आफूले प्रतिज्ञा गरिसकेको कुरा देवीले दैत्यदूतलाई सुनाएको र आफ्नो सन्देश दैत्यराज शुम्भसमक्ष प्रस्तुत गर्न दैत्यदूतलाई देवीले भनेको प्रसङ्गसमेत पाँचौं अध्यायमा व्यक्त भएको छ ।
देवीको सन्देश सुनेर अत्यन्त क्रुद्ध बनेको दैत्यराज शुम्भले देवीलाई जगल्ट्याएर आफूसमक्ष ल्याउनका लागि धूम्रलोचनको नेतृत्वमा तत्काल साठी हजार सेना पठायो । आफ्नो विशाल सेनाको दम्भ देखाएर जब धूम्रलोचनले एक्ली देवीमाथि आक्रमण गर्न अग्रसर भयो तब देवीको हुङ्कारमात्रले धूम्रलोचन भस्म भयो । त्यसपछि दैत्यको विशाल सेना र देवीका बीचमा युद्ध भयो । देवीको वाहन सिंहले पनि दैत्यसेनालाई विभिन्न तरिकाले आहत तुल्यायो । क्षणभरमै दैत्यसेनाको संहार भएको खबर पाएर अत्यन्त क्रुद्ध भएको दैत्यराज शुम्भले चण्ड र मुण्ड नामका महादैत्यलाई देवीसँग युद्ध गर्न पठायो । देवीलाई घचेटेर यहाँ ल्याउन सम्भव नभएका खण्डमा जुनसुकै अस्त्रशस्त्रको प्रयोग गरेर भए पनि देवीको र सिंहको समेत हत्या गरी देवीलाई बाँधेर साथमै ल्याउने आदेशसमेत शुम्भले चण्ड र मुण्डलाई दिएको कथावस्तु छैटौं अध्यायमा समावेश गरिएको छ ।
दैत्यराज शुम्भको आज्ञा पाएर चतुरङ्गिणी सेनाका साथ युद्ध गर्नका लागि चण्ड र मुण्ड हिमालय पर्वतमा रहेकी देवीसमक्ष पुगे । शत्रुले आक्रमण गर्न खोजेको देखेर देवीले कालो कालो मुख लगाएर नरमुण्डको माला पहिरिएर मांसविहीन हड्डीमात्रको शरीर धारण गरेर भयङ्कर गर्जना गरिन् । त्यसपछि अघि बढेको चण्डलाई पनि देवीले आफ्नो तरवारद्वारा घाइते बनाएर पृथ्वीमा पछारिदिइन् । बँचेका दैन्यसेनाहरूको पनि त्यहाँबाट भागाभाग भयो । त्यसपछि चण्डिकादेवी चण्ड र मुण्डको शिर हातमा लिएर चण्डिकासमक्ष पुगिन् । साथै उनले चण्ड एवम् मुण्ड नामक महापशुलाई उपहारका रूपमा समर्पण गरेको र अबको युद्धयज्ञमा शुम्भ र निशुम्भलाई चण्डिका आफैले वध गर्न पनि कालिकाले अनुरोध गरिन् । तदनन्तर चण्डिकाले चण्ड र मुण्डलाई लिएर आफूकहाँ आएको हुँदा संसारभर कालिकाको नाम ‘चामुण्डा’का रूपमा प्रसिद्धि हुनेछ भनेर व्यक्त गरेको विषयवस्तु सातौं अध्यायमा समावेश भएको छ ।
महादैत्य चण्ड र मुण्ड पनि युद्धमा मारिएपछि दैत्यराज शुम्भले सम्पूर्ण सेनालाई युद्धमा सम्मिलित हुने आदेश दियो । विशाल दैत्यसेना आउँदै गरेको देखेर चण्डिकाले धनुष्टङ्कारद्वारा पृथ्वी र आकाशलाई गुञ्जायमान बनाइन् । दैत्यसेनाले चण्डिकादेवी, सिंह र कालिकादेवीलाई चारैतिरबाट घेरे । त्यस अवसरमा सम्पूर्ण देवताले आआफ्नो शक्तिलाई आफ्नो शरीरबाट निकालेर चण्डिकादेवीसमक्ष पुगे । सबै देवताद्वारा सहयोग प्राप्त गरेका कारण सर्वशक्तिमान् बनेकी चण्डिकाले रक्तबीजमाथि त्रिशूल प्रहार गरिन् । रगतबाट पुनः रक्तबीजको उत्पन्न नभइदियोस् भनेर चण्डिकाले रक्तबीजको रगत पिएर उसलाई रक्तहीन बनाइन् । रक्तबीजको संहारपछि सबै देवताहरू हर्षित भएको र असुरहरूको रक्तपानको मदले उन्मक्त भएर मातृगणले नृत्य गरेको सन्दर्भ आठौं अध्यायमा व्यक्त भएको छ ।
रक्तबीजको मृत्युपछि शुम्भ र निशुम्भ दुवै आफ्नो सेनाका साथ मातृगणसँग युद्ध गरी चण्डिकालाई मार्ने उद्देश्य लिएर युद्धमैदानमा आएर बाणहरूको भयङ्कर वृष्टि गरे । चण्डिकाले त्रिशूलद्वारा शुम्भलाई प्रहार गरेपछि शुम्भ मूच्र्छित भई भुईँमा पछारियो । त्यसपछि निशुम्भले आफ्ना बाणद्वारा देवी, काली र सिंहलाई समेत घाइते बनायो । उसले दश हजार हातहरू बनाएर चक्रहरूको प्रहारले चण्डिकालाई ढाकिदियो । त्यतिबेला दुर्गादेवीले ती सबै बाण र चक्रलाई काटिदिइन् । युद्धकै क्रममा चण्डिकाले खड्गद्वारा निशुम्भको शिरच्छेदन गरिन् । सिंहले आफ्ना दाह्राले तथा काली र शिवदूतीले पनि दैत्यहरूलाई भक्षण गर्न थाले । ब्राह्मी, माहेश्वरी, वाराही, वैष्णवी, ऐन्द्री आदि मातृगणले पनि असुरहरूको संहार गरे । त्यसरी केही असुरहरू युद्धमा मारिए, केही असुरहरू युद्धबाट भागे भने कैयौं असुरहरू काली, शिवदूती र सिंहको आहारा बन्न पुगे भन्ने विषयवस्तुको वर्णन नवौं अध्यायमा गरिएको छ ।
आफ्नो प्राणसमानको प्यारो भाइ निशुम्भसँगै सारा सेनाको युद्धमा संहार भएको देखेर शुम्भ अत्यन्त क्रुद्ध हुँदै अन्य स्त्रीहरूको बलको सहारा लिएर युद्ध लड्दै बलको घमण्ड नदेखाउन दुर्गादेवीलाई आग्रह गर्छ भने देवीले युद्धमैदानमा आफूमात्र एक्लै रहेको, आफूबाहेक आफ्नो अर्को कोही सहयोगी नरहेको र सहयोगीजस्ता देखिने ब्रह्माणी आदि सबै आफ्नै विभूति भएकाले तिनीहरू आफ्नै शरीरमा लीन हुन पुगेको बताउँछिन् । त्यसपछि देवी र शुम्भका बीचमा भयङ्कर युद्ध हुन्छ । अन्ततः देवीकै त्रिशूलको प्रहारद्वारा शुम्भको पनि प्राणपखेरु उडेर जान्छ । सबै दैत्यहरूको संहार भएपछि उत्पात मच्चाउने मेघ पनि शान्त भए, नदीहरूसमेत आफ्नै मार्गमा वहन थाले, वायु पनि पवित्र रूपमै वहन थाल्यो, सूर्यको प्रकाश पनि उत्तम देखिन थाल्यो, अग्निशालामा निभेको आगो पनि प्रज्वलित भयो र सबै दिशामा भयङ्कर रूपमा ध्वनित हुने शब्दहरू पनि शान्त भए भन्ने विषयवस्तुलाई दशौं अध्यायमा समेटिएको छ ।
दैत्यराज शुम्भको मृत्युपछि सबै देवताले अग्निलाई अघि लगाएर कात्यायनी देवीको स्तुति गर्न लागे । उनै देवीलाई ब्रह्माणी, माहेश्वरी, कौमारी, वाराही, शिवदूती, चामुण्डा आदि स्वरूपकी नारायणी ठानिएको छ । तीनै लोकका सम्पूर्ण बाधाहरू शान्त गर्न र शत्रुहरूको नाश गर्न देवताहरूले देवीसमक्ष वर मागे र त्यसलाई उनले पूरा गरिदिइन् । देवीको भविष्यवाणीअनुसार वैवस्वत मन्वन्तरको अट्ठाइसौं युगमा शुम्भ र निशुम्भ नामका दुई अन्य महादैत्यहरू उत्पन्न हुनेछन् र त्यतिबेला नन्दगोपको घरमा यशोदाको गर्भबाट अवतार लिई विन्ध्याचलमा गएर रहने र ती दुवै दैत्यको आफैले विनाश गर्ने, पृथ्वीमा अवतार लिएर वैप्रचित्त नामक दानवको वध गर्ने, ती दैत्यलाई भक्षण गर्दा आफ्ना दाँतहरू अनारका दानाजस्ता राता हुने र स्वर्गलोकका सम्पूर्ण देवता तथा मत्र्यलोकका मानवले सदैव आफ्नो स्तुति गर्ने क्रममा आफूलाई ‘रक्तदन्तिका’ भनेर पुकार्ने, पृथ्वीमा सय वर्षसम्म वर्षा नहुँदा पानीको हाहाकार हुने र आफू अयोनिजा रूपमा उत्पन्न हुने र त्यतिबेला आफूले सहय नेत्रले मुनिहरूलाई देख्ने भएकाले मनुष्यले ‘शताक्षी’ भनेर आफ्नो कीर्तन गर्ने, वर्षा नहुँदासम्म सागले मात्र सबैको प्राणरक्षा गर्ने भएकाले त्यतिबेला आफू ‘शाकम्भरी’ नामद्वारा प्रसिद्ध हुने, महादैत्यको वध गर्ने भएकाले आफू ‘दुर्गादेवी’ का रूपमा समेत प्रसिद्ध हुने, त्यसपछि भीम रूप धारण गरेर हिमालयमा रहने राक्षसको भक्षण गर्ने भएकाले आफ्नो नाम ‘भीमादेवी’ का रूपमा प्रसिद्ध हुने, तीनै लोकलाई दुःख दिने अरुण नामक दैत्यको प्रादुर्भाव भएपछि छखुट्टे भँमराको रूप धारण गरेर त्यस दैत्यको वध गर्ने भएकाले आफू ‘भ्रामरी’ का नामले प्रसिद्ध हुने र यसरी जब जब संसारमा दानवी बाधा उत्पन्न हुन्छ तब तब नयाँ नयाँ अवतार लिएर आफूले शत्रुहरूको संहार गर्नेछु भन्ने सन्दर्भहरू एघारौं अध्यायमा आएका छन् ।
बाह्रौं अध्यायमा देवीका चरित्रहरूको पाठ गर्नुको महत्त्वबारे प्रकाश पारिएको छ । सम्पूर्ण बाधाहरूको दूर गर्नका लागि एकाग्रचित्त भएर भक्तिपूर्वक यसको पाठ गर्नु र सुनाउनु आवश्यक छ । बलिदान दिँदा, जुनसुकै पूजा गर्दा र विवाह आदि महोत्सवका अवसरमा यसको पूरापूर पाठ र श्रवण गर्नुपर्छ । शरद ऋतुको नवरात्रमा यसको पाठ गर्नाले सम्पूर्ण बन्धनहरूबाट मुक्त भई धनधान्य र पुत्रादिद्वारा सम्पन्नता प्राप्त हुनेछ । आफ्नो पाठमाहात्म्यको वर्णन गरेपछि भगवती चण्डिका देख्तादेख्तै अन्तर्धान भएको कुरा बाह्रौं अध्यायमा व्यक्त भएको छ ।
तेह्रौं तथा अन्तिम अध्यायमा देवीका समुपासक राजा सुरथलाई र समाधि नामक वैश्यलाई देवीले वरदान दिएको प्रसङ्गलाई समेटिएको छ । राजा र वैश्य दुवैले नदीकिनारमा माटाको मूर्ति बनाएर अल्पाहारबाट निराहार एवम् आफ्नै रगतद्वारा प्रोक्षित बलि दिँदै अविच्छिन्न रूपमा तीन वर्षसम्म देवीको आराधना गरे । देवी प्रसन्न भएर उनले राजाको चाहनाअनुरूप राजालाई दोस्रो जन्ममा पनि नष्ट नहुने राज्यसुखको वरदान दिइन् भने सांसारिक सुखबाट विरक्त भई ज्ञानको मार्गमा प्रवृत्त हुन खोजेको वैश्यलाई उसकै इच्छाबमोजिम ‘म’ र ‘मेरो’ भन्ने आसक्तिको नाश गर्ने ज्ञानको वरदान दिइन् । साथै राजाले सूर्यको अंशका रूपमा पुनर्जन्म लिएर पृथ्वीमा सावर्णिक मनुका नामले प्रसिद्धि पाउने तथा वैश्यले भने पुनर्जन्मको चक्करमा नफस्ने गरी मोक्षका लागि ज्ञान पाउने कुराले दुवैलाई आश्वस्त पारेर देवी अन्तर्धान भएको प्रसङ्गसँगै चण्डीको मूल कथावस्तुको समाप्ति भएको छ ।
सप्तशती भन्नाले मुख्यतः चण्डीका तेह्र अध्यायलाई जनाउँछ तर सप्तशतीपाठ वा चण्डीपाठ गर्दा तेह्र अध्यायको मात्र पाठ गरेर पुग्दैन । चण्डीपाठ गर्दा सुरुका देवीकवच, अर्गलास्तोत्र र कीलकस्तोत्र पढ्नैपर्छ भने अन्तमा प्राधानिकरहस्य, वैकृतिकरहस्य र मूर्तिरहस्य पनि पाठ गर्न छुटाउनु हुँदैन । कुनै शस्त्रअस्त्रद्वारा आफूलाई सुरक्षित हुन कवच धारण गरेजस्तै सबै प्रकारको रक्षा गर्न समर्थ भएकाले महाकालीको स्वरूप देवीकवच पाठ गरिन्छ । हामीले घरमा रहेको धनसम्पत्तिको सुरक्षा गर्न ढोकाको भित्री भागमा आग्लो लगाउने गर्दछौं । त्यसैगरी चण्डीपाठको सुरक्षाका लागि महालक्ष्मीको स्वरूप अर्गलास्तोत्र पाठ गरिनु आवश्यक छ । हामीले घर बनाउँदा स्थिरताको प्रतीक खम्बा (पिलर) वा गाईवस्तुलाई बाँध्न कीलो गाड्ने गर्दछौं । त्यसरी नै चण्डीपाठको स्थिरता वा एकाग्रताका लागि महासरस्वतीको स्वरूप कीलकस्तोत्र पाठ गर्ने गरिएको हो । चण्डीपाठ गर्दा देवीको जुन विधिद्वारा जुन स्वरूपको आराधना गर्नुपर्छ त्यसको मुख्य रहस्य बुभ्mनका लागि महालक्ष्मीको स्वरूप प्राधानिक रहस्यको पाठ गरिन्छ । देवीका विभिन्न स्वरूपको रहस्य बुझ्न तथा चण्डीपाठ कसरी गर्ने ? भन्ने रहस्य बुझ्नका लागि वैकृतिक रहस्यको पाठ गर्ने गरिएको हो । चण्डीपाठमा रहेका तीन चरित्रमध्ये कुनै एउटामात्र चरित्रको पाठ गर्नुपर्यो भने मध्यम चरित्र (२—४ अध्याय) पाठ गर्न सकिन्छ तर प्रथम चरित्र वा उत्तर चरित्रमध्ये कुनै एकको मात्र पाठ गर्नु हुँदैन । त्यस्तै आधा चरित्रको मात्र पाठ गर्दा पनि त्यसको फल प्राप्त हुँदैन । देवीका विभिन्न मूर्तिहरूको रहस्य बुभ्mनका लागि मूर्तिरहस्यको पाठ गरिन्छ ।
सप्तशतीको पहिलो अध्याय प्रारम्भ गर्नुभन्दा पहिला र तेह्रौं अध्यायको समाप्तिपछि पनि न्यास र १०८ पटक जप गर्न भुल्नु हुँदैन । देवीकवच प्रारम्भ हुनुभन्दा अगाडि सप्तश्लोकी दुर्गा, दुर्गाष्टोत्तरशतनामस्तोत्र र शापविमोचनमन्त्रको पाठ गरिन्छ भने कीलकस्तोत्रपछि वेदोक्त तथा तन्त्रोक्त रात्रिसूक्तहरू र देव्यथर्वशीर्षस्तोत्र पनि पाठ गरिन्छ । त्यसैगरी उत्तराद्र्धमा न्यास र जपपछि ऋग्वेदोक्त तथा तन्त्रोक्त देवीसूक्तहरूको पाठ गर्ने परम्परा छ भने मूर्तिरहस्यपछि दुर्गामानसपूजा, देव्यपराधक्षमापनस्तोत्र र अन्तमा अनिवार्य रूपमा सिद्धिकुञ्जिकास्तोत्र पाठ गर्नु आवश्यक छ । यसरी कुनै थप मन्त्रविना आद्योपान्त रूपमा गरिने पाठलाई साधारण चण्डीपाठ भनिन्छ भने चण्डीका तेह्र अध्यायभित्रका प्रत्येक श्लोकसङ्ख्याको अघि र पछि पनि कुनै विशेष श्लोक वा मन्त्र दुई दुई पटक दोहोर्याएर आद्योपान्त चण्डीपाठ गर्ने विधिलाई ‘सम्पुटपाठ’ भनिन्छ । परन्तु गाउँघरका कतिपय पुरोहितहरूले त्यसरी दुई दुई पटक दोहो¥याएर पढ्नुपर्ने मन्त्रलाई एक एक पटकमात्र पढेर ‘पुटितपाठ’ गर्ने दुष्प्रचलन पनि चलाएको पाइन्छ । त्यसबारे सम्बद्ध यजमानहरू र जानेबुझेका पुरोहितहरूले यथासमयमै त्यस्ता अबुझ पुरोहितहरूको आँखा खोलिदिनु आवश्यक देखिन्छ ।

No comments:

Post a Comment